फाइल तस्वीर


धनगढी — नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने चेतावनी दिएको छ । आज सोमबार सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आफ्नो पार्टीको नेता रेशम चौधरीलाई थारुहरुको ठूलो पर्व माघीसम्म सरकारले रिहाइ नगरे प्रदेशसभा सञ्चालन गर्न नदिने चेतावनी दिनुभएको हो ।

प्रमुख सचेतक चौधरीले रेशम चौधरीलाई रिहाइ नगरिए प्रदेशसभाको बैठकमा अवरोध गर्ने भन्दै ‘नेपालको नयाँ संविधान लेखन हुँदै गर्दा २०७२ सालमा टीकापुर घटना घट्यो । व्यक्तिगत स्वार्थका लागि नभएर राजनीतिक अधिकार माग्ने क्रममा घटना घट्यो । तर यो घटनाका कारण राज्यले थारु समुदायमाथि ठूलो अन्याय गरेको छ । सात वर्षसम्म पनि सरकारले कुनै निकास दिन सकेको छैन’ भनि आक्रोश व्यक्त गर्नुभएको छ । सचेतक चौधरीले ‘डिल्लीबजार कारागारमा रेशम चौधरी र कैलाली कारागारमा हाम्रै थुप्रै साथीहरुलाई बन्दी बनाएर राखिएको छ । माघी पर्वसम्म उहाँहरुलाई निशर्त रिहाई गर्नुपर्ने हाम्रो माग छ भन्दै तय अवधिमा पनि सरकारले रिहा नगरे माघपछि सदनमा हाम्रो अवरोध हुनेछ । चल्ने दिइने छैन’— भनि चेतावनी दिनुभएको छ ।

सङ्घीय सरकारमा बाहिर बसेर समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ लगायतका माग राख्दै आएको छ । सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा निर्णायक देखिएको यो पार्टीले मुख्यमन्त्रीमा समेत दाबी गरेको छ । सरकार गठन गर्ने क्रममा नेताहरु डिल्लीबजार कारागारमा जेल जीवन विताइरहनुभएका नेता रेशम चौधरीलाई भेट्न पुग्नुभएको थियो । नेता चौधरीको रिहाई गर्न सरकार सकारात्मक भएता पनि कानूनी व्यवधानका कारण ढिलाई हुँदै आएको यस अघि बताइएको थियो ।