कञ्चनपुर — कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँका रामदल रानाको साँढे चार बिघा जमिन दोदा नदीले कटान गर्‍यो । उक्त नदीले जमिन बगरमा परिणत गरेपछि केही समय समस्यामा परेका उहाँ अहिले सोही बगरमा बेसार, सुनकागती र अदुवा खेती गरेर मसला उत्पादनमा जुटनुभएको छ ।

“नदीको बगर जोगाउँदै ‘बगर टू बगैँचा’ भन्ने सोचअनरुप गाउँका किसान मिलेर बेसार उद्योग सञ्चालनमा ल्याएका छौँ ।” उहाँ भन्नुहुन्छ,“नदीको कटान जोगाउन जैविक तटवन्ध बनाइए पनि अझै पक्की तटबन्ध बनाउन कुनै निकायबाट पहल भएको छैन् ।”वर्षामा बाढीको त्रासदी हुने गरेको खल्लाजाईमा डुबान तथा कटानको प्रमुख समस्या रहेको रानाको भनाइ छ ।“अहिले अढाई बिघा जमिन बाँकी छ ।” उहाँ भन्नुहुन्छ, “गाउँका ३५ राना समुदायका किसान गाउँमै बेसार उत्पादन गरेर बिक्री वितरणमा जुटेका छौँ ।”

अहिले खल्लाजाई क्षेत्रको दोदा नदीमा पर्ने करिब दुई किलोमिटर क्षेत्रफलको बगरमा व्यक्तिगत र सामूहिक बेसार खेती गरिएको छ ।“ गाउँमै बेसार उत्पादन गरी किनबेच सुरु गरेपछि रु ६० हजार बचत भएकोछ ।” स्थानीय अमन राना भन्नुहुन्छ,“बेसारसँगै कतिपयले बगरमा उखुखेतीसमेत गरेका छन् ।”

दोदा किसान समूह सञ्चालन गरेका उक्त समुदायका किसानले बगर संरक्षणका साथै आम्दानीको स्रोत पनि बनेकाले बेसारखेती गरिरहेको बताएका हुन् ।“सुरुमा यहाँ दोदाबाट जोगिन गाउँमा सामुदायिक विपत् व्यवस्थापन समिति बनायौंँ ।” उहाँ भन्नुहुन्छ,“पछि बगर संरक्षण र आयमूलक काममा पनि अग्रसर हुँदै आयौंँ ।”

उक्त समूहले अहिले १० कठ्ठा बगरमा बेसार, १५ कठ्ठामा कागती खेती गरेको छ । समूहका सचिव सिमानन्द राना गत वर्ष नौ क्विन्टल बेसार बिक्री गरेको बताउनुहुन्छ । “बेसार यहाँबाट बेलौरी, धनगढी, अत्तरियाका साथै स्थानीयस्तरमा पनि बिक्री हुन्छ ।” उहाँ भन्नुहुन्छ,“बगर संरक्षणले डुबान तथा कटानको समस्या पनि अलिकति कम भएको छ ।”समूहले गरेको मुनाफाबाट किसानलाई सहुलियतरुपमा ऋण समेत उपलब्ध गराउँदै आइएको छ ।”

नगदेबालीजस्तै भएकाले यहाँ गहुँ र धानभन्दा बेसार खेतीमा किसान बढी सक्रिय हुन थालेका छन् ।” उहाँ बताउनुहुन्छ, “वर्षामा हुने डुबानले विगतमा किसानले निकै समस्या झेल्नु परेको अनुभव छ । बेसार उत्पादनका लागि दाताबाट उपकरणका साथै बीउबिजनसमेत अनुदानमा उपलब्ध गराइएको छ।

कृषि ज्ञान केन्द्र र पालिकाबाट बेसारको बीउका लागि अनुदान मिलेको थियो भने उत्थान परियोजनाअन्तर्गत उपकरण उपलब्ध भएको थियो। स्थानीय किसान जितबहादुर राना बेसार प्रतिक्विन्टल रु २० हजारका दरले गाउँबाट बिक्री भइरहेको उल्लेख गर्नुहुन्छ । सुरक्षित स्थान खोज्दै अस्थायी रुपमा अन्यत्र बस्नुपर्ने बाध्यता भएकाले यहाँका किसान अझै पनि दोदा नदीको कटान र डुबानबाट बच्न स्तरीय तटबन्धको आशमा बसेका उहाँ बताउनुहुन्छ ।

पालिकाको स–साना बजेटले मात्र यत्रो ठूलो दोदाको कटान नियन्त्रण सम्भव नभएकाले केन्द्र सरकारबाट पर्याप्त बजेट उपलब्ध भएमात्र कटान नियन्त्रण सम्भव हुने उहाँको भनाइ छ । रासस