फाइल तस्वीर


काठमाडौं — जनता समाजवादी पार्टी नेपालको बैठक बस्दैछ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जसपा सरकारमा जाने या नजाने भन्ने विषयमा छलफल गर्न पार्टीको राजनीतिक समितिको बैठक बस्न लागेको हो ।

आज सोमबार र भोलि मङ्गलबार गरी दुई दिनसम्म चल्ने उक्त बैठकले सरकारमा सहभागी हुने नहुने सम्बन्धमा निर्णय गर्ने बताइएको छ । जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवका अनुसार आजबाट सुरु हुने बैठकले सरकारमा जाने कि नजाने भनेर निर्णय गर्ने छ ।

दुई दिनसम्म चल्ले राजनीतिक समितिको बैठकमा गत मङ्सिरमा सम्पन्न निर्वाचन र पार्टीको हारको विषयमा समेत समीक्षा हुने एक नेताले बताएका छन् । देशको वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै आगामी दिनमा पार्टी कसरी अगाडि बन्ने भन्ने विषयमा पनि आवश्यक निर्णय लिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड! लाई विश्वासको मत दिन सहमत भए पनि सरकारमा सहभागी हुने विषयमा पार्टीभित्र नेताहरु मतऐक छैनन् । अध्यक्ष उपेन्द्र यादव निर्वाचनमा पराजित भएका कारण पनि पार्टी सरकारमा सहभागी हुने कुराप्रति त्यति इच्छुक भएका छैनन् । तर पार्टीबाट नवनिर्वाचित सांसदहरु भने सरकारमा जानुपर्छ भन्नेमा देखिएका छन् ।

नागरिकता सम्बन्धी विधेयक ल्याउनुपर्नेमा मुख्य जोड दिंदै जसपाका प्रवक्ता मनिष सुमनले भने आफूहरुका मुद्दा सम्बोधन भए र शक्ति सन्तुलनमा कुरा मिलेमा आफ्नो पार्टी सरकारमा सहभागी हुन सक्ने बताउँछन् ।

देउवा नेतृत्वको सरकारले नागरिकता विधेयक पास गर्न राष्ट्रपति कार्यालयमा पठाएता पनि राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयकलाई मुल्तविमा राख्दा धेरै विवाद उत्पन्न भएको थियो । जसपा लगायत मधेसवादी दलहरु नागरिकता विधेयक आउनु पर्नेमा जोड दिंदै आएका छन् ।