रोल्पा – पश्चिमी रोल्पाको त्रिवेणी गाउँपालिका–६ बाजबोट गाउँमा रहेको भानु आधारभूत विद्यालयमा शनिबार राति आगलागी भएको छ । आगलागीबाट विद्यालयको मुख्य कार्यालयभित्र रहेका सामग्री जल्दा करिब १० लाख क्षति भएको स्थानीयले दाबी गरेका छन् ।

कार्यालयका कागजात, कम्प्युटर र अन्य सामग्री आगलागीबाट नष्ट भएका छन् । स्थानीय दुर्योधन रानाले अज्ञात समूहबाट विद्यालयमा आगलागी गरेको हुनसक्ने बताए । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ । उक्त विद्यालय गाउँपालिका केन्द्र रहेको जुगारको नेर्पाबाट करिब १५ मिनेटको पैदल दूरीमा रहेको छ । विद्यालय गाउँको माथिल्लो र जंगलको तल्लो भागमा पर्छ ।

वडा अध्यक्ष नरेन्द्र भण्डारीका अनुसार अज्ञात व्यक्ति वा समूहबाट भएको आगलागीबाट विद्यालयमा थू क्षति भएको छ । आगलागीमा संलग्नको खोजी थालिएको उहाँले बताउनुभयो । उहाँले प्रहरीलाई दोषी पत्ता लगाई कानुनी कारवाही गर्न निर्देशन गरिएको बताउनुभयो । गाउँपालिकाको बैठकद्वारा उक्त घटनाको छानबिन गर्ने योजना रहेको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।

उहाँले अघिल्लो वर्ष पनि उक्त वडाको काउलाबोट विद्यालयमा पनि आगलागी गराइएको जानकारी दिनुभयो । आगलागीबाट विद्यालयका महत्त्वपूर्ण सामानमा क्षति पुगेको थियो भने त्यस घटना लगत्तै कम्प्युटर समेत चोरी भएको थियो।