फाइल तस्वीर


बुटवल — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले नेपालका सबै वामपन्थी पार्टीहरु एकैठाउँमा जम्मा हुनुपर्ने बताउनु भएको छ । महासचिव गुरुङले नेपालका साना ठूला सबै कम्युनिस्ट पार्टीहरुलाई मिलाएर एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्ने धारणा राख्नु भएको हो ।

तमु ल्होसार कार्यक्रममा सहभागी हुन रुपन्देही आउनु भएका नेता गुरुङले आज भैरहवामा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नेपालका कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिनुको विकल्प नभएको भन्दै कम्युनिस्ट शक्तिहरु एकतावद्ध नभए गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता जस्ता उपलब्धीहरु गुम्ने खतरा रहेको बताउनु भयो ।

‘सदनभित्र र बाहिर रहेका कम्युनिष्ट घटकहरूबीच सहमति, संवाद गरी एउटै कम्युनिस्ट पार्टी बनाउने अभियानमा लाग्नु पर्नेको महासचिव गुरुङको जोड थियो । पत्रकारहरुको प्रश्नको जवाफ दिंदै नेता गुरुङले ‘सबै कम्युनिस्ट घटकहरू मिलेर एउटै कम्युनिस्ट पार्टी बनाउने अभियानमा लागेका छौं’– भन्नुभयो ।