रामेछाप — पुख्र्र्यौली पेसा सङ्कटमा परेपछि तामाकोसी नदी किनारमा बस्दै आएका माझी समुदायका युवाले वैकल्पिक पेसा रोज्न थालेका छन् । सो नदीमा माछा पाउन छाडेपछि वैकल्पिक पेसा रोज्न थालेका हुन् ।

उनीहरु अन्य पेसा व्यवसायमा लाग्दा माझीहरूको पुख्र्यौली पेसा भने सङ्कटमा परेको छ । मन्थली नगरपालिका–१ का हरि माझीले तामाकोसी नदीमा माछा पाउन छाडेपछि र पक्की पुल बनेपछि डुङ्गा तार्ने र माछा मार्ने समुदायको अहिले आफ्नो पुख्र्यौली पेसा छोडेर नेपाल प्रहरी, नेपाली सेनामा जागिर खाने, वैदेशिक रोजगारीमा जाने र अन्य पेसा व्यवसायमा लाग्ने क्रम बढेको  बताउनुभयो ।  

गैरकानुनी रूपमा करेन्ट लगाएर माछा मार्ने क्रम बढेका कारण नदीमा माछा पाउन छाडेपछि कोसी किनारमा बसोबास गर्ने माझी समुदायका पुरुषहरू वैदेशिक रोजगारीमा जाने र महिलाहरू किनारा पसललगायत अन्य पेसा व्यवसायमा लाग्ने क्रम बढेको मन्थली–१ की मञ्जु माझीले गुनासो गर्नुभयो ।

तामाकोसी नदी किनारमा बस्ने माझी समुदायका अधिकांश मानिसहरू पुख्र्यौली पेसा छाडेर कतिपय वैदेशिक रोजगारीमा गएका छन् भने केही इँटाभट्टालगायत अन्य पेसा व्यवसायमा लागेका छन् । सीमान्तकृत जातिमा पर्ने माझी समुदायको आफ्नो भाषा, संस्कार संस्कृति लोप हुँदै गइरहेको अवस्थामा सो समुदायले आफ्नो भाषा, संस्कार, संस्कृति र रीतिरिवाजको संरक्षण गर्दै आएका थिए ।  जिल्लामा माझी समुदायको जनसङ्ख्या ६ हजार ४२ रहेको छ ।रासस