फाइल तस्वीर
कलैया — बिनाविभागीय मन्त्री ज्वालाकुमारी साहले शिक्षामा देखिएको बेथिति अन्त्य गरिनुपर्नेमा जोड दिनुभएको छ । बेथितिलाई सुधार गरी गुणस्तरीय शिक्षा उपलब्ध गराउन सके मात्र यस क्षेत्रका गरिब तप्काका विद्यार्थीले सहज रुपमा उच्च शिक्षा प्राप्त गर्नसक्नेमा उहाँले जोड दिनुभयो ।

रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसको १५आँै सभालाई आज सम्बोधन गर्दै उहाँले जिल्लाकै जेठो यस क्याम्पसले शिक्षाको क्षेत्रमा चाहे जति फड्को मार्न नसकेको हुँदा यहाँका विद्यार्थी अन्यत्र जिल्लामा गई पठनपाठन गर्न बाध्य भएको बताउनुभयो ।

मधेस प्रदेशमा शिक्षाको स्तर खस्किँदै गएको उल्लेख गर्दै उहाँले सुधार गर्न शिक्षा क्षेत्रका सबै सरोकारवालाको भूमिकालाई अझै प्रभावकारी बनाउँदै जानुपर्नेमा जोड दिनुभयो । तराई मधेसका जिल्लामा शिक्षकले समयमा विद्यालय नआउनु, जति बेला मन लाग्यो उति बेला नै हिँडिदिने, बढी बिदा लिने, मन लगाएर विद्यार्थीलाई नपढाउने जस्ता विकृतिका कारणले पनि शिक्षा क्षेत्रमा बेथिति आएको मन्त्री साहको भनाइ छ ।