अर्घाखाँची — भारतमा सिपाहीको जागिर गर्दै गर्दा ‘खान नपाएर आएका नेपाली’ भन्ने शब्द सुनेका कारण भारतीय पल्टनको जागिर छाडेर स्वदेश फर्किएका सिम्लेका ७७ वर्षीय हुमनाथ पौडेल अहिले जिल्लाका सफल सुन्तला किसान बन्नुभएको छ ।

विसं २०२७ मा भारतीय सेनामा रहँदा भारतीयले नेपालीहरुप्रति प्रयोग गरेको यही शब्द सहन नसकी सेनाको जागिर चटक्कै छाडेर घर फर्किनुभयो । त्यसलगत्तै पौडेलले नेपाली माटोमा केही गरेर देखाउन सक्छु भन्ने दृढ सङ्कल्पका साथ सुन्तलाखेती सुरु गर्नुभएको हो । 

उहाँ आफूले मात्र सुन्तला लगाउनुभएन, सारा गाउँकालाई नै सुन्तलाखेतीप्रति प्रेरित गर्ने अभियानका साथ डोकोमा सुन्तलाका बिरुवा बोकर घरघर पु¥याउनुभयो । “पैसा हुनेलाई बिरुवा पैसामा बेचे, नहुनेसँग श्रम साटे, कसैबाट अन्न, डोको, नाम्ला र दाउरा लिएर पनि सुन्तलाका बिरुवा घरघर लगाउन अनुरोध गरे”, उहाँले भन्नुभयो । उहाँले धेरैलाई निःशुल्क बिरुवा दिएर पनि सुन्तलाका बोट लगाउन प्रेरित गर्नुभयोे । 

उहाँले आफ्नो घरमा मात्रै सुन्तला खेतीबाट वार्षिक रु २० लाखभन्दा बढी आम्दानी हुने गरेको र आफ्नो परिवारलाई खान लाउन पुगेको बताउनुभयो । अहिले सुन्तला राम्रो फलेकाले रु २५ लाखभन्दा बढी आम्दानी हुने उहाँको भनाइ छ । उहाँको सुन्तला बगैँचामा अहिले झण्डै साढे आठ सय बिरुवा रहेका छन् । उहाँको बारी, खेत, खर्क सबैमा सुन्तलाको बगैँचा छ । 

एक व्यक्तिको पहलमा २०२७ सालमा सुरु भएको सुन्तलाखेतीले अहिले पाणिनि गाउँपालिकाको वडा नं १ पणेना र वडा नं २ पोखराथोकको प्रमुख उत्पादनको स्रोत सुन्तला बनेको छ । पणेनामा दुई सय र वडा नं १ सिम्लेमा मात्रै झण्डै ४९ कृषकले अहिले सुन्तला खेतीबाट घटीमा रु एक लाखदेखि बढीमा रु २८ लाखसम्म मनग्य आम्दानी गरिरहेका छन् ।

अर्घाखाँचीमा यस वर्ष रु २७ करोडको सुन्तला फलेको बताइएको छ । जिल्लाको चार सय ९४ हेक्टर क्षेत्रमा सुन्तलाखेती गरिएकामा पाँच हजार तीन सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्लाभरमा यस वर्ष करिब रु २७ करोड मूल्यको सुन्तलाको कारोबार हुने कृषि ज्ञान केन्द्रका प्रमुख राममिलनप्रसाद विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा १० प्रतिशतले सुन्तला उत्पादन बढी भएको हो ।

पाणिनिका वडा नं १ पणेना, वडा नं २ पोखराथोक, ४ पटौटी र ५ मैदानमा पनि सुन्तला उत्पादन हुने गर्दछ । पाणिनि गाउँपालिकासँगै मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिकाका विभिन्न स्थानमा सुन्तलाखेती हुँदै आएको छ । वैदेशिक रोजगारीमा गएका युवा पनि रोजगारीबाट फर्किएर व्यावसायिक सुन्तलाखेतीमा लागेका छन् । सुन्तलाखेतीबाट मनग्य आम्दानी भएपछि कृषक खुसी भएका छन् ।

चिस्यान केन्द्र बनेपछि पणेनाका सुन्तला कृषक हर्षित बनेका छन् ।   विगतका वर्षमा यहाँ उत्पादन भएको सुन्तला प्रतिकिलो रु ६० देखि ६५ मा बुटवल, तानसेन र भैरहवाका बजारमा बिक्री गर्न बाध्य बनेका कृषकले यस वर्ष पाणिनिको पोखराथोकमा शीतभण्डार बनाइएपछि शीत भण्डारमा भण्डारण गरेका छन् । 

अहिले मौसमीरुपमा सस्तो मूल्यमा बेच्नुभन्दा शीत भण्डारमा राखेर बैमौसमी समयमा महँगो दरमा सुन्तला बिक्री हुने भएपछि यहाँका कृषक खुसी भएको अगुवा कृषक चिरञ्जीवी पौडेलको भनाइ छ । विगतका वर्षमा सडेर तथा नष्ट भएर जाने सुन्तला अहिले कोल्डस्टोरमा राखेर बेमौसममा महँगो मूल्यमा बिक्री गर्ने यहाँका कृषकको योजना रहेको पौडेलले बताउनुभयो ।  

यस गाउँका ४९ घरपरिवार व्यावसायिक सुन्तलाखेतीमा लागेका र सुन्तला खेतीबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक रेवतीराज पौडेलले बताउनुभयो । उहाँले आफ्नो बारीमा पाँच सय ५५ बोट सुन्तला रहेका र यसबाट दुई सय ५० क्विन्टलभन्दा बढी फलेको बताउनुभयो । उहाँले यस वर्ष सुन्तला बिक्रीबाट रु २५ देखि २८ लाख आम्दानी हुने जानकारी दिनुभयो ।

सिम्लेमा मात्र एक गाउँमा ४९ घर कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् । उनीहरुले सबैले सुन्ताल बेचेर कम्तीमा रु तीन लाखदेखि २० लाख सम्म आम्दानी गर्ने गर्छन् । आफ्नो बारीमा पाँच सय ६५ बोट सुन्तला बगैँचामा रहेका कृषक दधीराम गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष सुन्तला बिक्रीबाट मैले रु नौ लाख आम्दानी गरेको थिए, यस वर्ष सुन्तला बढी फलेकाले रु १४ लाख आम्दानी हुने अपेक्षा गरेको छु ।” 

सिम्लेमा वैदेशिक रोजगारीमा गएका युवा पनि रोजगारीबाट फर्किएर व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । व्यावसायिक सुन्तलाखेतीमा लागेका सिम्लेका हरि पौडेलको बगँैचामा झण्डै पाँच सय सुन्तलाका बोट रहेका छन् । ती बोटबाट वार्षिक रु १० देखि १२ लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो । यस वर्ष शीत भण्डारमा राखेको हुँदा बढी फाइदा हुने उहाँको विश्वास छ । 

रेवतीराजको बगैँचामा अहिले सुन्तला, कागती, जुनार भारतिय किन्नु जातको सुन्तला, जापनिज उन्सु जातको सुन्तलाका बिरुवा रहेका छन् । उहाँले गत वर्षमात्र रु पाँच लाखका बिरुवा बिक्री गरेको र यस वर्ष झण्डै रु पाँच लाखका सुन्तला जातका बिरुवा बिक्री गरेर आम्दानी हुने बताउनुभयो ।रासस