काठमाडौं– प्रतिनिधिसभामा स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणा गरेका छन् । माओवादीबाट एमाले हुँदै स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका साहले आफ्नै अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटी बनाएर ‘आम जनता पार्टी’ घोषणा गरेका हुन् । काठमाडौंस्थित क्रिस्टल पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर साहले ’आम जनता पार्टी’ घोषणा गरेका हुन् ।

मङ्सिर ४ को निर्वाचनअघि नेकपा एमालेले दिएको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका साहलाई रौतहट ३ मा नेपाली काङ्ग्रेस र माओवादीले पनि साथ दिएका थिए । साह स्वतन्त्र सांसद भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधकुमार नेपाल र नेकपा एमालेका दोस्रो, तेस्रो तहका नेताहरुसँग संवादमा थिए । तर उनको तत्कालै कुनै पार्टीसँग कुरा मिलेन । एमालेले उनलाई साधारण सदस्यबाटै निष्कासित गरिसकेको छ । माओवादी र समाजवादीले पनि उनका माग पूरा गर्ने अवस्था तत्कालै नदेखिएपछि उनी नयाँ यात्रामा ’आम जनता पार्टी’ घोषणा तर्फ लागेका हुन् ।

उनको पार्टीमा रौतहट क्षेत्र नम्बर २ बाट विजयी स्वतन्त्र उम्मेदवार किरण साह पनि जोडिएका छन् । प्रभु शाहका प्रेस संयोजक निवेश यावदले पार्टी गठनका लागि एक महिनादेखि भइरहेको बैठकले सार्थकता पाएको बताएका छन् । ‘पार्टी गठनबारे एक महिनादेखि भइरहेको छलफलले आज सार्थकता पाएको छ,’ संयोजक यादवले भने, ‘फलःस्वरूप प्रभु यादवको अध्यक्षतामा पार्टी गठन भयो ।’ उनी रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।