काठमाडौं – रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । उनले आज एक पत्रकार सम्मेलन गर्दैनयाँ पार्टी ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका हुन् । यसका लागि उनले आफ्ना समूहका नेताहरुबीच छलफलसमेत गर्दै आएका छन् । नेकपा एमाले छाडेर रौतहट निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्ररुपमा उम्मेदवारी दिएका साह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । साह तत्कालीन नेकपा (माओवादी) का केन्द्रीय सदस्यसमेत हुन् ।
नेकपा पार्टी फुटेर एमाले र माओवादी केन्द्र बन्दा उनी एमालेमा लागेका थिए । तर गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनअघि उनले एमाले छोडेको घोषणा गरेका थिए । आज दिउँसो ३ बजे काठमाडौंको बिजुली बजारस्थित क्रिस्टल प्यालेसमा पत्रकार सम्मेलन हुँदैछ । सांसद साहले आफ्ना समूहका नेताहरुसँग भएको अनौपचारिक छलफलको निचोड आज सार्वजनिक गर्ने बताएका छन् ।
साहको नेतृत्वमा आम जनता पार्टी घोषणा हुने भएको र सो पार्टीमा प्रभु समूहबाट किरण साह र सर्लाहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका अमरेशकुमार सिंह समेत जोडिने बताइएको छ ।