काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले सत्ता साझेदार दलको संयोजकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तोक्ने निर्णय गरेको छ । आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउनेबारे छलफल भएको र कार्यदलको संयोजकमा एमाले अध्यक्ष केपी ओलीलाई तोकिएको बैठकमा सहभागी उपप्रधान तथा गृहमन्त्रीसमेत रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताउनुभएको हो ।

सत्ता साझेदार दलले पाँच दिनभित्र सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न कार्यदल गठन गरेको छ । गृहमन्त्री लामिछानेले भन्नुभयो, बैठकमा ‘न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति भएको छ । सत्ता साझेदार दलको प्रमुखको रूपमा हामीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संयोजकका रूपमा अगाडि बढाउने निर्णय भयो ।’ ‘न्यूनतम साझा कार्यक्रम ल्याउन ओली नेतृत्वको समितिमा सरकारमा रहेका दलहरूबाट एक÷एक जना सदस्य पनि पठाउने तयारी छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सात दलको समर्थन छ । आजको बैठमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, रास्वपा अध्यक्ष लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुनुहुन्थयो । राप्रपाले न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्ने र आफूहरूका सर्त सम्बोधन गर्ने प्रतिबद्धता आउनुपर्ने बताइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले कार्यदलले पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम बनाइसक्ने निर्णय गरेको छ । साथै आजको बैठकमा मन्त्रिमण्डल विस्तार र न्यूनतम् साझा कार्यक्रम तय गर्दा हरेक राजनीतिक दलका एजेन्डा समेट्नेबारे समेत छलफल भएकोे बताइएको छ ।