काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई समर्थन गरेका ७ दलका नेताहरूको बैठक आज दिउँसो बस्ने गरी बोलाउनुभएको छ । प्रधानमन्त्री प्रचण्ड निवास खुमलटारमा हिजो सत्ता साझेदार दल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा लामो कुराकानी पश्चात् आज मन्त्रिमण्डल विस्तारबारे छलफल गर्न सात दलीय नेताहरूको बैठक बस्न लागेको हो ।
बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, मन्त्रालयहरू कुन दलले के लिने र कति लिने भन्नेबारे छलफल गरेर भागबण्डा गर्ने तयारी छ । प्रदेशमा एमाले, माओवादी, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा दाबी गरिरहेका बेला प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तारको तयारी गरेको उहाँको सचिवालयले बताएको छ ।
राष्ट्रपति र सभामुख नेकपा एमालेले लिने मौखिक सहमति भएको बताइएको छ । तर अन्य पद कुन दलले लिने भन्नेबारे छलफल भएको छैन ।