फाइल तस्वीर


काठमाडौं — बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहीबार सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अहिले केहीबेरमा बस्ने तय हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजो साँझ खुमलटारबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नु भएको थियो । हिजो ललितपुरको खुमलटारस्थित प्रधानमन्त्रीको निजी निवासमा प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओलीबीच दिउँसो मन्त्रिपरिषद् विस्तार, मन्त्रालय बाँडफाँटदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायतका विषयमा दुई घण्टाभन्दा बढी लामो छलफल भएको थियो ।

दुई शीर्ष नेताहरुबीचको छलफल पश्चात् आजका लागि बालुवाटारमा बैठक बस्ने गरी दुवै नेता अलगिनु भएको थियो । सत्ता गठबन्धन दलहरुका शीर्ष नेताहरुबीच अहिले बालुवाटारमा बैठक बस्दैछ । आजको बैठकबाट मन्त्रालय बाँडफाँडको विषयमा छलफल हुने बताइएको छ । उक्त बैठकमा नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल हुनेछ ।