फाइल तस्वीर

काठमाडौं – बलात्कारका आरोपी नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनसम्बन्धी मुद्दाको पेसी आज बिहीबार परेको छ । पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका लामिछानेको सो सम्बन्धी मुद्दाको पाटन उच्च अदालतमा आज बहस हुँदैछ । बहस सकिएमा सम्भवन आजै फैसला हुने र उनी तारेखमा रिहा समेत हुनसक्ने सम्भावना छ ।

अघिल्लो साताका लागि नै पेसी तोकिए पनि ‘बार डे’ परेपछि लामिछाने पक्षका कानून व्यवसायीहरूले नै उक्त दिनको पेसी स्थगित गरेका थिए । लामिछानेका कानून व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार पाटन उच्च अदालतमा थुनछेकमा नै राखेर मुद्दाको किनारा लाग्ने या तारिख या धरौटीमा छाड्ने भनेर निर्णय हुन सक्नेछ ।

लामिछानेका कानून व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार बहस पछि उच्च अदालतले गर्ने निर्णयमा उनी तारेख वा धरौटी छाडिने छन् या थुनामै बसेर मुद्दा लड्नु पर्ने कुरा निक्र्योल हुनेछ । बलात्कारका आरोपी लामिछानेको पक्षबाट आज ७ जना कानून व्यवसायीहरुले बहस गर्ने छन् भने चार जना सरकारी वकिलले पनि बहस गर्ने छन् ।

सन्दीप पक्षका वकिलले आवश्यक सबै प्रमाणहरू अदालतसमक्ष बुझाइसकेका छन्। स्रोतका अनुसार केटीले सन्दीपसँग गएको दिन लुगासमेत अर्कैको लगाएर गएकी थिइन् । उक्त लुगासमेत अदालतमा पेस गर्ने तयारी भएको बताइएको छ । लामिछानेबाट बलात्कृत भएको भनिएकी नाबालिका रहेको प्रमाण पनि अदालतमा पेस गरिँदै छ । हिजोमात्रै ति नाबालिका भनिएकी केटीको फरक फरक मितिका तीन वटा निस्सा भेटिएको सार्वजनिक भएको थियो ।

यद्यपि, उक्त मुद्दाको अन्तिम किनारा भने काठमाडौं जिल्ला अदालतबाटै नै हुने बताइएको छ । अहिले सन्दीप काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने थुना मुक्त हुने नहुने भन्नेमा अझै अन्योलता कायम रहेको छ ।