काठमाडौं – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको भेटवार्ता सकिएको छ । बालकोटको बार्दलीमा उभिएर नयाँ सत्ता गठबन्धन बनाउनुभएका दुई शीर्ष नेताबीच आज बुधबार प्रचण्ड निवास खुमलटारको छतमा उक्लिएर सरकार विस्तारबारे छलफल भएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न उहाँको निवास खुमलटार पुग्नुभएका ओली र दाहालबीच दुई घण्टाभन्दा लामो वार्ता भएको र भोलि पुनः दुई शीर्ष नेताबीच बालुवाटारमा वार्ता हुने प्रचण्ड सचिवालयले जनाएको छ । उहाँहरुबीचको भेटवार्तामा आज सरकारका नीति तथा कार्यक्रमलाई लिएर सेवाप्रवाहलाई कसरी चुस्त बनाउने साथै गठबन्धनको साझा नीति तथा कार्यक्रमका बारेमा पनि छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए अनुसार, ’उहाँहरुबीच सरकारका नीति कार्यक्रम के के बनाउने? सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरा भयो ।’ ’मन्त्रिपरिषद्को पहिलो बैठकबाट भएका निर्णय कार्यान्वयनबारे पनि कुरा भएको छ ।’ उहाँहरुबीच भोलि बिहीबार फेरि बालुवाटारमा छलफल गर्ने गरी भेटवार्ता टुङ्गिएको बताइएको छ ।