फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) लाई पनि समावेश गर्ने गृहकार्य भएको छ । नयाँ सत्ता समीकरण बनेपछि सत्ता गठबन्धनमा एकीकृत समाजवादीलाई ल्याउने प्रयास भएको हो ।
प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच आज बिहान भेटवार्ता भएको थियो । छलफलका अवसरमा सरकारका उपप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहति अन्य नेताहरुको समेत उपस्थित रहेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई मिलेर सँगैबढ्न आग्रह गर्नुभएको र त्यसका लागि प्रधानमन्त्री स्वयम्ले उहाँहरुबीचको सम्बन्धलाई ‘ब्रेक थ्रु’ गराउन खोजिरहनुभएको स्रोतको भनाइछ ।
पार्टी विभाजनपछि पहिलोपटक प्रधानमन्त्री दाहालको शपथग्रहण समारोह कार्यक्रममा शीतल निवास पुग्नुभएको पूर्वप्रधानमन्त्रीद्वय ओली–नेपालबीच सम्वाद आरम्भ भएको थियो । एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन मङ्गलबार राति सो पार्टीका अध्यक्ष नेपाल र उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भेटवार्ता भएको थियो ।
एकीकृत समाजवादीका सांसदहरुले नेपाललाई सरकारमा जाने वातावरण बनाउन दबाब दिँदै आएका छन् । वाम गठबन्धन नेतृत्वको सरकार बनेकाले कांग्रेसलाई बाहिर राखेर प्रचण्डसँगै सहयात्रामा रहेका नेपाललाई सहभागी गराउन नेताहरु लागि परेका छन् । संसदमा वामपन्थी शक्ति अहिले पनि बलियो रहेको छ ।
प्रतिनिधिसभामा यतिबेला नेकपा एमालेका ७८ जना, माओवादी केन्द्रका ३२ जना, एकीकृत समाजवादीका १० जना, राष्ट्रिय जनमोर्चाका १ जना, नेपाल मजदुर किसान पार्टीका १ जना र स्वतन्त्र २ जना वामपन्थी सांसदहरु छन् ।