हेटौंडा – नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट बागमती प्रदेशसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुङ्गानाले आज प्रदेशको जेष्ठ सदस्यको रुपमा शपथ लिंदै हुनुहुन्छ ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म जेष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने व्यवस्था छ । सोहीअनुसार बागमती प्रदेशसभाका जेष्ठ सदस्य ढुङ्गानाले आज दिउँसो २ बजे हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालय हुटौंडामा जेष्ठ सदस्यको शपथ लिने कार्यक्रम राखिएको हो । उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराउनु हुने छ ।
उहाँले शपथ ग्रहण गरेपश्चात सभाका अन्य सांसदलाई पुस १४ गते बिहीबार शपथ ग्रहण गराउनु हुने कार्यक्रम रहेको छ । प्रदेशसभाको अधिवेशन पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।