काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आगामी पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रतिनिधिसभाको जेष्ठ सदस्यलाई सम्बोधन गर्दै राष्ट्रपति कार्यालयबाट पठाइएको पत्रमा उल्लेख गरिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सम्वत् २०७९ साल पुस २५ गते सोमबारका दिन १ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेको छु ।’

हिजो सोमबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदको शपथ लिनुभएपछि आज राष्ट्रपतिद्वारा सङ्घीय संसदको अधिवेशन आह्वान गरिएको हो । संसद चालु भएसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ ।