काठमाडौं — नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक अर्को हप्ता बस्ने भएको छ । देशको बदलिंदो राजनीतिक घटनाक्रम र निर्वाचनको समीक्षा गर्न पार्टीको कार्यसमितिको बैठक पुस २२ गते शुक्रबार बस्न लागेको हो ।
ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्ने छ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को समीक्षा र समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने बताइएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभामा सबैभन्दा बढी ८९ सिटमा विजयी भएर काङ्ग्रेस सङ्घीय संसद्को ठूलो दल बनेको छ । संसदको ठूलो दल बनेको काङ्ग्रेस अहङ्कार र दम्भको घमण्डले सत्ताबाट सडकमा पुगेको छ ।
पदको प्रलोभनको लालसाले गर्दा गठबन्धन टुट्न गै काङ्ग्रेस आफैं सङ्घदेखि प्रदेशसभाका मुख्य पदहरु गुमाउन पुगेको छ । ‘दुःख पाइस मङ्गले आफ्नै ढङ्गले’ भन्ने उक्ति यतिबेला काङ्ग्रेसका लागि चरितार्थ भएको छ । ‘भुईंको टिप्न खोज्दा पोल्टाको समेत पोखिन पुगेको’ भन्दै नेतृत्वलाई काङ्ग्रेस नेता र कार्यकर्ताहरुले नै आलोचना गरेका छन् ।