फाइल तस्वीर
काठमाडौं– वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौंले आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको विभागले जनाएको छ ।

अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थामा अनुगमन गरेको थियो । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा अनुगमन गर्दा मापदण्डअनुसार अभिमुखीकरण तालिम सञ्चालन नभएको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिनुपर्ने सरकारी नियम छ । जसअनुसार तालिम प्रदान गर्न वैदेशिक रोजगार विभागसँग अनुमति लिएर संस्थाले अभिमुखीकरण तालिम प्रदान गरिरहेका छन् । अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ अनुसार तालिम सञ्चालन हुनुपर्ने भए पनि यसअनुसार नभएको पाइएको विभागको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै विभागले १५ दिनभित्र कार्यविधिले तोकेको मापदण्ड पूरा गरी विभागलाई जानकारी गराउन सबै अभिमुखीकरण तालिम प्रदायकहरुलाई आह्वान गरेको छ । यसका साथै अभिमुखीकरण तालिम प्रदायक संस्थाको अनुगमन अबको केही समयभित्रै अनलाइनमार्फत् सुरु गरिने पनि पनि विभागले जनाएको छ ।