फाइल तस्वीर


काठमाडौं — गठबन्धनको समीकरण परिवर्तन भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा पठाउने भएको छ ।

उपाध्यक्ष पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई गरी चारैजनालाई आजै सरकारमा सहभागी गराउने एमालेले तयारी गरेको छ । सरकारको नेतृत्व गरेको नेकपा माओवादीले पनि पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ‘प्रकाश’लाई उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । सत्ता साझेदार अर्को ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि गृहमन्त्रालयसहित उपप्रधानमन्त्रीको दावी गरेका छन् ।

यसैगरी जनमत पार्टी सरकारमा सामेल हुँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाउने लगभग पक्का भएको हो । उक्त पार्टीले अब्दुल खानलाई सरकारमा पठाउने भएको छ । संसद भवन, बानेश्वरमा सोमबार बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले यो मन्त्रालय लिने सहमति भएको हो ।

सांसदको रुपमा धेरै काम गर्न सक्ने अवस्था नभएकाले आफ्नो दलले सरकारमा जाने निर्णय गरेको सो पार्टीका अध्यक्ष चन्द्रप्रकाश राउतले बताएछन् ।े पार्टीको उपाध्यक्ष समेत रहनुभएका अब्दुल खानले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ । प्रतिनिधिसभामा ६ सांसद भएको जनमत पार्टीमा सीके राउत आफैं सरकारमा जानुपर्ने मत थियो । यद्यपि, उनले अहिले आफू सरकारमा नजाने भने नचाहेको एक नेताले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारलाई समर्थन गर्ने राजनीतिक दलहरुमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएका छन् भने जनता समाजवादी पार्टीले सरकारमा जाने नजाने विषयमा निर्णय गर्न सकेको छैन । यता नेकपा एकीकृत समाजवादी पार्टीले एजेण्डाको आधारमा सरकारलाई समर्थन गर्ने जनाएको छ ।