काठमाडौं – नेपाली काङ्ग्रेससँगको गठबन्धन तोडेर निस्किनु भएका नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा वामपन्थी नेतृत्वको सरकार बन्ने भएको छ । नेपाली काङ्ग्रेसले माकेका अध्यक्ष प्रचण्डलाई पूर्वसहमतिका खिलाफमा रही प्रधानमन्त्री नदिने भनेपछि सत्ता समीकरणमा परिवर्तन आएको हो ।
माकेका अध्यक्ष प्रचण्डलाई एमालेसहित, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायतका दलहरुले समर्र्थन गर्ने भएपछि प्रचण्ड तेस्रो पटक नेपालको प्रधानमन्त्री बन्नुहुन् भएको छ । अध्यक्ष प्रचण्डको पक्षमा दोस्रो ठूलो दल नेकपा एमालेसहित १६६ जना सांसदहरुले समर्थन गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा भएको चार घण्टा लामो वार्तापछि प्रधानमन्त्रीका लागि पुष्पकमल दाहाल प्रचण्डको पक्षमा सहमति जुटेको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पक्षमा सहमति जुटेको एमाले महासचिव शङ्कर पोखरेल स्पष्ट पार्नुभएको छ । सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव पोखरेलले ‘नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजान्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्तिसहितका १६६ सांसदले प्रधानमन्त्रीका लागि प्रचण्डलाई समर्थन गर्ने सहमति भएको जानकारी गराउनु भएको थियो ।

अब माकेका अध्यक्ष प्रचण्डको नेतृत्वमा संविधानको धारा ७६ उपाधारा २ अन्तर्गतको सरकार बन्ने भएको छ । उहाँको समर्थनमा प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद छन् । प्रचण्डको समर्थनमा नेकपा एकीकृत समाजवादीले पनि समर्थन गर्न सक्ने अवस्था छ । उसका १० जना सांसद रहेका छन् ।

अध्यक्ष प्रचण्डको नेतृत्वमा उपाधारा २ अन्तर्गत २ भन्दा धेरै राजनीतिक दलहरुको समर्थनको सरकार बनाउन दाबी प्रस्तुत गर्ने सहमति भइसकेको छ । अध्यक्ष प्रचण्ड यतिबेला प्रतिनिधिसभाका १६६ जना सांसदको समर्थनमा आजै सरकारको दाबी पेश गर्न राष्ट्रपति निवास शितलनिवास पुगिसक्नुभएको छ ।