फाइल तस्वीर

काठमाडौं – सरकार गठनको समय घर्किने सङ्घारमा आइपुग्दा नेपाल कम्युस्टि पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठनबन्धनको बैठक छोडेर बाहिरिएसँगै राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । सरकार गठन गर्ने विषयमा छलफल गर्न यतिबेला बालकोटमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का शीर्ष नेताहरु बालकोट पुगेका छन् भने माकेका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाँदै हुनुहन्छ ।


सरकार गठनको विषयमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रबीच सहमति जुट्न नसकेपछि माकेका अध्यक्ष प्रचण्ड सत्ता गठबन्धनको बैठक छाडेर बालकोट लाग्नु भएको हो । सरकार गठनका विषयमा बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको थियो । दुई शीर्ष नेताहरुबीचको वार्तामा सहमति जुट्न नसक्दा सरकार गठनको विषय पेचिलो बन्दै गएको छ । नेपाली काङ्ग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिंदै आएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न दिएको सात दिने समयसीमा आज साँझ ५ बजे सकिंदैछ । त्यसअघि नै गठबन्धनका दलहरु पद बाँडफाँडमा सहमति खोज्ने प्रयासमा जुटेपनि सहमतिको विन्दुमा पुग्न सकेका छ्रैनन् । सहमति खोज्ने प्रयासमा शीर्ष नेताहरुबीच अलग–अलग र संयुक्त बैठक हुँदै आएको भएता पनि सहमतिको सम्भावना न्यून देखिन्छ ।

नेपाली काङ्ग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद थालेको हो । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले एमाले नेताहरुसँग संवादलाई अघि बढारहेका छन् । त्यसो त एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन तोडेर आएको खण्डमा सरकार गठनको विषयमा छलफल गर्न सकिने बताउनुभएको थियो । हिजोमात्रै एमाले अध्यक्ष ओलीले अब माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कुनैपनि हालतमा प्रधानमन्त्री बन्न नसक्ने ठोकुवा समेत गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कुनैपनि हालतमा सरकारको नेतृत्व नदिन काङ्ग्रेस र एमालेभित्र बाह्य शक्तिको चलखेल छ ।

बहुमतको सरकार गठन गर्ने समयसीमा सकिएपछि अल्पमतको सरकारका लागि ढोका खोलिने छ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो नेतृत्वमा बहुमतको सरकार बनाउने खेलमा लाग्नु भएकोले नै काङ्ग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको दावी पेश गर्दै सहमति र सहकार्यको हलो अड्काउने काम गरेको राजनीतिक क्षेत्रमा विश्लेषण गरिएको छ ।

सरकार गठनकै विषयलाई लिएर प्रतिनिधिसभाको तेस्रो दल नेकपा माओवादी केन्द्र र काङ््गेसबीच तिक्तता बढ्दै गएको छ । सम्भवत अब गठबन्धन फुट्ने छ । काङ्ग्रेसकै कारणले गठबन्धन फुट्ने सम्भावना बढ्दै गएको छ । त्यसो त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि प्रधानमन्त्रीको आकाङ्क्षी हुनुहुन्छ । माओवादी केन्द्र गठबन्धनबाट अलग्गिए पनि एमालेले प्रचण्डको नेतृत्वमा सरकार बनाउने कुरालाई स्वीकार नगर्न सक्दछ माओवादी केन्द्रविनाको सरकार गठन गर्न काङ्ग्रेस र एमालेलाई त्यति सहज छैन । सहज एउटै मानेमा छ काङ्ग्रेस र एमाले मिल्नु पर्ने हुन्छ । यी दुई पार्टी मिलेर सरकार बन्ने कुरा त्यति पत्यारिलो छैन ।

गठबन्धन जोगाइ राख्न नेपाली काङ्ग्रेसले प्रधानमन्त्री लिएर राष्ट्रपति र सभामुखमा गठबन्धन दलहरुसँग मिल्नुपर्ने हुन्छ । काङ्ग्रेसको हठ र दम्भले उसले राष्ट्रपति, प्रधामन्त्री र सभामुखलगायत प्रमुख पदहरु गुमाउन सक्ने अवस्था पनि आउन सक्छ । यदि एमालेले वर्तमान राजनीतिलाई सहज ढङ्गले बामपन्थी नेतृत्वको सरकार बनाउन चाहेमा नेपाली काङ्ग्रेसलाई ‘लोभले लाभ, लाभले विलाप’ को अवस्थामा नपुर्याउला भन्न सकिन्न ।