फाइल तस्वीर


काठमाडौं — सरकार गठनको समयसीमा घर्किदैगर्दा गठबन्धन दलहरुबीच प्रधानमन्त्रीका लागि रस्साकस्सी चलिरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतबार साँझ पाँच बजेसम्मको समयसीमा तोकेर सरकार गठनका लागि आह्वान गर्नुभएसँग सत्ता गठबन्धनका दलहरुबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा मतऐक हुन नसक्दा रस्सकस्सी भैरहेको हो ।

यसैबीच आज गठबन्धन दलको बैठक बस्दैछ । गठबन्धनको बैठक बस्नु अघि काङ्ग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच छुट्टै वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा काङ््ग्रेस सभापति देउवा र माकेका अध्यक्ष प्रचण्डबीच सरकार गठनको लागि छलफल भएको छ । दुवै शीर्ष नेताले प्रधानमन्त्रीमा आ–आफ्नो दावी पेश गर्दै आउनु भएको छ ।

गठबन्धनमा छलफल गर्नु अघि नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको नेतृत्वबीच छुट्टै छलफल गरेर निष्कर्षमा पुग्ने प्रयत्न भएको बताइएको छ । दुई शीर्ष नेताहरुको छलफललगत्तै सत्ता गठबन्धनको बैठक बस्नेछ । सत्ता गठबन्धनको बैठक अघि काङ्ग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमै बसेको थियो । काङ्ग्रेस राष्ट्रपति र प्रधानमन्त्री आफुले पाउनु पर्ने अडानमा देखिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ५ बजेभित्र बहुमतसहित सरकारका नेतृत्वमा दाबी प्रस्तुत गर्न दलहरुलाई समयसीमा दिएकी छन् । सोही समयभित्रै सहमति जुटाउने प्रयासमा नेताहरु सक्रिय छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहमत भएपनि पहिले प्रधानमन्त्री को बन्ने विषयमा हानथाप चलिरहेको छ । नेपाली काङ्ग्रेसले पहिलो दुई वर्ष आफ्नो पार्टीले नेतृत्व गर्ने र बाँकी तीन वर्षमध्ये दुई वर्ष माओवादी केन्द्र र एक वर्ष एकीकृत समाजवादीलाई प्रधानमन्त्री दिने सहमति गराउन चाहेको छ । यद्यपि, काङ््ग्रेस सभापति देउवा र माकेका अध्यक्ष प्रचण्डमध्ये पहिले को प्रधानमन्त्री हुने भन्ने विषयमै गठबन्धन दलहरुमा सहमति जुट्न सकेको छैन ।

सत्ता गठबन्धनमा सहमति हुन नसकेको परिस्थितिको सम्भावनालाई ख्याल गर्दै काङ्ग्रेस र माओवादी केन्द्र दुवैले नेकपा एमालेसँग पनि छलफल जारी राखेका छन् । काङ्ग्रेस नेता विमलेन्द्र निधिले शनिबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुग्नु भएको थियो । आजै बिहान प्रचण्ड निवास खुमलटार पुगेर निधिले प्रचण्डलाई भेटेर काङ्ग्रेसको नेतृत्वमा सरकार बनाउन आग्रह गर्नुभएको थियो । तर प्रचण्ड यसमा सहमत नभए पछि निधिले राष्ट्रपति र प्रधानमन्त्री काङ््ग्र्सले छोड्न नसक्ने जानकारी गराउनु भएको थियो ।