फाइल तस्वीर
काठमाडौं– सत्तारूढ गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो ।
बैठकमा नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सहभागीता रहेको छ । राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय सकिनै लाग्दा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू शक्ति बाँडफाँडका विषयको टुङ्गो लगाउन छलफल तथा बैठकमा जुटिरहेका छन् । सत्तारुढ गठबन्धन दलबीच बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न छलफल जारी रहेता पनि नयाँ सरकारको नेतृत्वबारे काङ्ग्रेस र माओवादीबीच कुरा मिलेको छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठनका लागि भोलि आइतबार बेलुकी ५ बजेसम्मको समय दिनुभएको छ । तर सरकारमा शक्ति बाँडफाँडका विषयमा भने अझै टुङ्गो लाग्न सकेको छैन ।