फाइल तस्वीर

काठमाडौं – हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । तराईसहित विभिन्न क्षेत्रमा हुस्सु र तुवाँलो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसबाहेक विभिन्न पहाडी क्षेत्रमा बदलीको आँकलन गरिएको छ । राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक– दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण महाशाखाले गरेको छ ।

भोलि आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । हिमाली भूभागका एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।