फाइल तस्वीर
काठमाडौं – १९ वर्षपछि जेलबाट छुटेका विकिनी किलर चार्ल्स शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरी निष्काशन गरेको छ । गृह मन्त्रालयले शोभराजलाई १० वर्ष नेपाल फर्कन नपाउने गरी निष्कासन गर्ने निर्णय हो ।
गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलका अनुसार ‘चार्ल्स शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरी ‘डिपोट’ गर्नेे निर्णय गरेको छ ।’ हत्या र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई शुक्रबार बिहान छुटेका शोभराजलाई अध्यागमन विभागले पनि आजै फ्रान्स निष्कासनको प्रक्रिया अघि बढाएको छ ।
उमेर र स्वास्थ्य अवस्थाका आधारमा सर्वोच्च अदालतले कैद छोट्याएर छाड्न आदेश दिएपछि केन्द्रीय कारागारले शोभराजलाई अध्यागमन विभाग बुझाएको थियो । वि.सं.२०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको त्यसमाथि मानवअधिकारको मापदण्ड विपरित कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको हो ।
अध्यागमन विभाग पु¥याइएका कुख्यात सिरियल किलर चार्ल्स शोभराजको ट्राभल डकुमेन्ट आएको छ । काठमाडौंस्थित फ्रान्सेली दूतावासले १९ वर्ष कैद सजाय भोगेर आज शुक्रबार केन्द्रीय कारागार सुन्धारबाट रिहा भएका शोभराजको ट्राभल डकुमेन्ट पठाएको हो । ट्राभल डकुमेन्ट आएपछि शुक्रबार साँझ नै फ्रान्सतर्फ डिपोर्ट गर्ने गरी उनलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगेको छ । उनलाई अहिले साँझ ६ बजे कतार एयरवेजको उडान नम्बर क्युआर ६४७ बाट दोहाका लागि पठाइनेछ । दोहामा राति पौने ९ बजे उत्रिने उनलाई त्यहाँबाट मध्यराति १ बजेर २५ मिनेटमा कतार एयरवेजकै उडना नम्बर क्युआर ४१ जहाजले पेरिसतर्फ लैजानेछ । शोभराज भोलि शनिबार बिहान ६ बजेर ३५ मिनेटमा पेरिसमा उत्रिनेछन् ।