फाइल तस्वीर


काठमाडौं — प्रतिनिधिसभाका दुई जना सदस्यले आज शुक्रबार शपथ ग्रहण गर्नुहुने भएको छ । हिजो बिहीबार शपथ ग्रहण कार्यक्रममा सहभागि हुन नसक्नु भएका नेकपा माओवादी केन्द्रका सांसद्द्वय महिन्द्रराय यादव र रामकुमार राईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्न लाग्नु भएको हो ।

द्वयसांसद्लाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज शुक्रबार साढे ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

सांसद् यादव र राई हिजो उपत्यका बाहिर रहनु भएको र हिजोको मौसम प्रतिकूलताका कारण हवाई उडान ढिलो हुँदा शपथ ग्रहण कार्यक्रममा सहभागी हुन पाउनु भएको थिएन । आज उहाँहरुले शपथ ग्रहण गर्नुहुनेछ ।

एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली कांग्रेसकी माया राई पनि शपथ ग्रहण समारोहमा सरिक हुन पाउनु भएन । सांसद् आले पारिवारिक शोकमा रहनु भएको छ भने राई अस्पतालमा सुत्केरी अवस्थामा रहनुभएको शपथ ग्रहणमा उपस्थित हुन सक्नुभएन । संसद् सचिवालयका अनुसार उहाँहरु दुवैले आफ्नो अनुकूलतामा सांसद्को शपथ लिनु हुनेछ ।

प्रतिनिधिसभा सदस्य सङ्ख्या २६५ रहेको छ । जसमा प्रत्यक्ष निर्वाचित १६५ जना र समानुपातिक प्रणालीबाट १०० जना प्रतिनिधिसभा सदस्य रहने व्यवस्था छ । अरु सांसद्हरुलाई हिजो बिहीबार नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा शपथ ग्रहण गराइएको थियो ।