काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणबाट बिहीबार शपथ लिन नसकेपछि उनलाई सङ्घीय संसद् सचिवालयले आज मात्र शपथ गराउने तयारी गरेको हो ।

यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले अहिले बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउनेछन् । सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई बिहीबार शपथ गराउने कार्यक्रम राखेको थियो । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहीबार आयोजित समारोहमा दुई सय ७० सांसद्ले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई शपथ लिन अनुपस्थित भएका थिए । आले पारिवारिक शोकमा र राई सुत्केरी भई अस्पतालमा छन् । खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाईजहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेको संसद् सचिवालयले जनाएको छ ।