मोरङ – मोरङको कूल क्षेत्रफल एक लाख ८५ हजार छ सय हेक्टर छ । यसभित्र एक सय ३४ सामुदायिक, चार साझेदारी, दुई कबुलियती, १२ धार्मिक तथा सरकारद्वारा व्यवस्थित गरी ४६ हजार आठ सय पाँच हेक्टर क्षेत्र वन रहेको छ । तर वन व्यवस्थापनका लागि भने डढेलो मुख्य चुनौतीको रूपमा रहेको छ ।
मोरङमा वन क्षेत्र सुदृढ हुँदा जैविक विविधतामा सुधार आएको भए पनि डढेलोले वन व्यवस्थापनमा बाधा पु¥याउने गरेको छ । डढेलोलाई वन विनासको मुख्य कारण मानिन्छ । दाउरा निकाल्न सजिलो हुने भनेर वनमा आगो लगाउने गरेको पाइएको छ । विराटनगर–३ स्थित डिभिजन वन कार्यालयका अनुसार मोरङमा बर्सेनि औसत एक सय ५० देखि चार सय हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ ।
वन व्यवस्थापन दिगो, छरितो र उत्कृष्ट भए पनि वन क्षेत्रमा लाग्ने डढेलोले बेलाबेलामा चिन्ता बढाउने गरेको छ । डढेलोले सङ्कटापन्न जीवजन्तुदेखि बहुमूल्य रूख बिरुवामा क्षति पु¥याउने गरेको सहायक वन अधिकृत एवं सूचना अधिकारी रामलखन ठाकुर बताउनुहुन्छ ।
“कार्यालयले वनमा लाग्ने डढेलो नियन्त्रणका लागि सचेतना कार्यक्रमदेखि सञ्जाल गठनसम्मको काम गर्दै आएको छ”, उहाँले भन्नुभयो । उहाँले स्थानीय वन उपभोक्ता समूहका प्रतिनिधि, सुरक्षा निकाय, वन सुरक्षा निकाय र डिभिजन वन कार्यालयको कर्मचारी सम्मिलित वन डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको बताउनुभयो । सञ्जालले वन क्षेत्रमा लागेको डढेलो निभाउनेदेखि आगलागीबारे जनचेतना फैलाउनेसम्मको कार्य गर्दैआएको ठाकुरले बताउनुभयो ।
कार्यालयले डढेलो नियन्त्रणका लागि वन क्षेत्रमा पतझर सोहरेर अग्नि रेखाको सरसफाइ, वन क्षेत्रमा नियन्त्रित आगो लगाउने कार्य गर्दै आएको छ । साथै वनमा आगलागी भइहाल्यो भने तत्कालै निभाउनका लागि वन क्षेत्र नजिक तीन वटा पानी ढुवानीका लागि ट्याङ्कर तयारी अवस्थामा राखिएको छ ।
डिभिजन वन कार्यालयका वन अधिकृत अनिरुद्धकुमार साहले सीमित स्रोतसाधनका बाबजुत मोरङमा डढेलो नियन्त्रणको सवालमा उल्लेखनीय प्रगति भएको दाबी गर्नुभयो । उहाँले मोरङको वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि आवश्यक प्राविधिक र जनशक्तिलाई तालिम र उपकरणसहित चौबिसै घण्टा परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको बताउनुभयो । रासस