फाइल तस्वीर


काठमाडौं — सत्ता गठबन्धनका शीर्ष तीन नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको छ । नेपाली काङ्ग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सम्मिलित तीन शीर्ष नेताको बैठक बसेको हो ।

बिहीबार संसदीय दलको नेता चुनिएलगतै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्रीको दौडाहामा रहनुभएका अध्यक्ष प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि बालुवाटार पुगी बैठकमा सहभागी हुनुभएको छ । अध्यक्ष नेपाल आजै अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । शीर्ष नेताहरुसहित अन्य नेताहरु पनि छलफलमा सहभागि हुनुभएको बालुवाटार स्रोतले बताएको छ ।

नेताहरुबीच नयाँ सरकार गठन र शक्ति बाँडफाँट लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री र राष्ट्रपतिमा नेपाली काङ्ग्रेसले दावी गरिरहेको छ भने प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रपतिमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको दावी रहेको छ ।

सत्ता गढबन्धनका नेताहरुबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुखलगायतका पदहरुमा भागबण्डा मिलाउन छलफल भैरहेको छ । नेताहरुबीच प्रदेशहरुमा पनि मुख्यमन्त्रीको विषयले पनि प्रवेश पाउनसक्ने बताइएको छ ।