काठमाडौं– गृह मन्त्रालयले एक दर्जनभन्दा बढी प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गराएको छ । गृह मन्त्रालयले अवधि पुगेका विभिन्न १३ सिडिओ तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

सिंहदरवार विशेष ब्युरोबाट प्राप्त विवरण अनुसार मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यलाई काठमाडौँको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ भने त्यहाँकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाललाई मनाङ जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ ।

त्यसैगरी सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनिल खनाललाई इलाका उर्लाबारी प्रमुख, म्याग्दीका प्रजिअ चिरञ्जीवी रानालाई टिकपुर इलाका प्रमुख, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेललाई अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र मुस्ताङका प्रमुख प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद अधिकारीलाई त्यहाँको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।

यस्तै सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरिलाई सोही पदमा सिन्धुली, टिकापुर इलाका प्रमुख पुष्कर खड्कालाई प्रमुख जिल्ला अधिकारी बाजुरा, उपसचिव वसन्त भट्टराईलाई प्रमुख जिल्ला अधिकारी सोलुखुम्बु, भैरहवा विमानस्थल प्रमुख अनुप केसीलाई प्रमुख जिल्ला अधिकारी मुस्ताङ, उर्लाबारी इलाका प्रमुख तुलसीराम पौडेललाई प्रजिअ म्याग्दी, बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलाई सोही जिम्मेवारी दिएर रसुवा र रसुवाका प्रमुख जिल्ला अधिकारी जैसीलाई मन्त्रालयमा सरुवा गरिएको छ ।