फाइल तस्वीर

काठमाडौं – नाबालिका जबरजस्तीकरणी बलात्कार मुद्दामा पूर्पक्षका लागि जेल चलान भएका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज पेशी तोकिएको छ । पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेका कानुन व्यवसायीले गत मङ्सिर २९ गते दर्ता गरेका मुद्दाको पेशी आजका लागि तोकिएको हो ।

पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ताको कागज बोकेर कानुन व्यवसायी उच्च अदालत गएका हुन् । उच्चअदालतमा दिएको निवेदनमा किशोरीको उमेर १८ वर्ष माथि रहेको दाबी गरिएको छ । थुनछेकको बहसका क्रममा सन्दीपका वकिलहरुले नाबालिग भनिएकी किशोरीको उमेर १८ वर्ष ३ महिना भइसकेकाले अभियोग नै गलत भएको तर्क गरे पनि अदालतले फैसला नहुन्जेल सन्दीपका लागि जेलको बाटो देखाएको थियो । नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरी हिरासतमा राखेको थियो ।

सन्दीप र उनका वकिलले किशोरी नाबालिग नरहेको भन्ने तीनवटा प्रमाण नै पेश गरेका थिए । तर अन्तिम निर्णय नहुन्जेललाई अदालतले सन्दीपलाई पुर्पक्षका लागि जेल पठाएको हो ।