काठमाडौं – सङ्घीय संसद सचिवालयले प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराउने भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार काठमाडौंको नयाँबानेस्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे सांसदहरूलाई शपथ ग्रहण गराउने हुनुभएको हो ।
प्रतिनिधिसभाका नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ । ज्येष्ठ सदस्य जबराले हिजो बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरिसक्नुभएको छ । शपथ अघि आज ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बस्ने भएको छ । आज बिहिबार मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्ने भएको हो ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक–एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् । सर्वदलीय बैठकमा दलका प्रतिनिधि, सभाका अध्यक्ष जबरा, संसद सचिवालयमा महासचिव डा. भरतराज गौतम लगायतको सहभागीता हुनेछन् ।