फाइल तस्वीर
काठमाडौं — प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक बस्ने भएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण अघि भोलि बिहीबार ज्येष्ठ सदस्य जबराको अध्यक्षतामा सर्वदलीय बैठक बस्न लागेको हो ।

काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थल सङ्घीय संसद भवनको ल्होत्से हलमा मध्यान्ह १२ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ । सांसदहरुको शपथग्रहण प्रक्रिया लगायत बैठक बस्नुपूर्व तयारीका सम्बन्धमा बैठक बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको नियमित बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने बरम्परा भएता पनि भोलिको बैठक नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणका लागि मात्रै बैठक सञ्चालनको बारेमा मात्र केन्द्रित हुने सचिवालयले बताएको छ ।

बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न १२ वटा राजनीतिक दलबाट एक÷एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् । जेष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बस्ने सर्वदलीय बैठकमा दलका प्रतिनिधिहरु र संसद् सचिवालयमा महासचिव डा. भरतराज गौतम लगायत सहभागी हुने बताइएको छ । सर्वदलीय बैठकपछि दिउँसो १ बजेका लागि नवनिर्वाचित सांसद्हरुको शपथ ग्रहणको कार्यक्रम राखिएको संसद् सचिवालयले जनाएको छ ।