काठमाडौं – मङ्सिर ४ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा विजयी सबैभन्दा ज्येष्ठ उमेरका सांसद् पशुपति शमशेर जबराको पद तथा गोपनियताको शपथ ग्रहणका क्रममा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच जम्काभेट भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्रीबीच संवाद भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जबरालाई पद तथा गोपनीयताको शपथ खुवाउने क्रममा त्रय पूर्वप्रधानमन्त्री ओली, प्रचण्ड र झलनाथ खनाललाई लहरै राखिएको थियो । वि.सं.२०७७ मा तत्कालीन नेकपा खारेज भएदेखि संवादहीन अवस्थामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच निर्वाचनको परिणाम घोषणा भएपश्चात् एक अर्कालाई टेलिफोनमार्फत् बधाई दिएका दुई अध्यक्ष र एकीकृत समाजवादीका सम्मानित नेता बीच पार्टी विभाजन पछि पहिलो पटक भौतिकरुपमा भेट भएको हो । नेकपा विभाजन पछि तीनै जना शीर्ष नेताहरुबीच भौतिक रुपमा एकै ठाउँमा भेट भएको यो पहिलो पटक हो ।
तीनै जना पूर्वप्रधानमन्त्री शपथ ग्रहण कार्यक्रममा शितल निवासमा सहभागी हुने क्रममा भेट भएको थियो । जबराको शपथका क्रममा ओली, प्रचण्ड र खनालबीच अनौपचारिक संवाद भएको छ । तर उहाँहरुबीच भएको कुराकानी केही पनि बाहिर आएको छैन ।