काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्रिवि शिक्षण अस्पताल पुग्नुभएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपाललाई भेट्न आज बुधबार दुवै शीर्ष नेता अस्पताल पुग्नुभएको हो ।

अध्यक्ष नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि हिजो मङ्गलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको हो । उहाँको छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको टोलीले उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।

अस्वस्थ भएर त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका अध्यक्ष नेपालको स्वास्थ्य अवस्थाको जानकारी लिँदै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।