बाँके – खजुरा गाउँपालिकामा अभिभावकविहीन बालबालिकाका लागि आवासीय भवन बन्ने भएको छ ।

खजुरा–२  गाउँस्थित गौरीनगरमा भवन बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा भवन निर्माणका लागि रु ५० लाख विनियोजन गरिएको छ । मङ्गलबार भवनको शिलान्यास गर्दै गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले अभिभावकविहीन बालबालिकाको संरक्षण गर्ने उद्देश्यले भवन बनाउन लागिएको बताउनुभयो ।  

उहाँले भन्नुभयो, “पालिकाभित्र रहेका बाबु, आमा नभएका बालबालिकालाई पालिकाले नै संरक्षण गर्ने र पढाउने नीति अघि सारेको छ, सोहीअन्तर्गत नै यहाँ भवन बन्न लागेको हो ।”

अभिभावकविहीन बालबालिकालाई गाउँपालिकाले स्याहार गर्ने र पढाउने भएपछि १८ बालबालिका सम्पर्कमा आइसकेको गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभित्र ५० बालबालिका अभिभावकविहीन भएको हुनसक्ने आङ्कलन गरिएको छ । रासस