काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्ना सांसदहरुलाई भोलि हुने शपथ ग्रहणमा सहभागी हुँदा राष्ट्रिय पोशाकमा आउन आग्रह गरेको छ । लिखित निर्देशन नै नभए पनि मौखिकरुपमा सांसदहरुलाई राष्ट्रिय पोशाक र नेपाली भाषामै शपथ लिन भनिएको एक सांसदले बताउनुभएको हो ।
संविधानमा समेत आफ्नो मातृ भाषा र पोशाकमा सपथ लिन सक्ने व्यवस्था गरेकोमा नेतृत्वले राष्ट्रिय भाषा र पोशाक अनिवार्य जस्तै गर्न खोजेको भन्दै केही सांसद असन्तुष्ट समेत बनेका छन् ।
‘आफ्नो भाषा र पोशाकमा सपथ लिन पाउने भनेर संविधानले नै व्यवस्था गरेको छ,’ एक सांसदले भने, ‘तर, नेतृत्वले ह्वीप लगाएर जसरी राष्ट्रिय भाषा र पोशाकमै शपथ लिनुपर्छ भनेको छ । हामीले आफ्नो भाषा र भुषा अनुसारको शपथ लिन पनि नपाउनु ?’
असन्तुष्ट सांसदले उपाध्यक्ष सुवास नेम्वाङ र महासचिव शंकर पोखरेलसँग यसबारे असन्तुष्टि समेत पोखेका छन् । सांसदको गुनासोपछि नेम्वाङले आफूले बालकोट गएर अध्यक्षसँग कुरा राख्ने बताउनुभएको थियो ।
एमालेका नेता लिलानाथ श्रेष्ठले भने सकभर राष्ट्रिय पोशाक र भाषामा सपथ लिंदा राम्रो हुने भनिएको तर अनिवार्य भने नगरेको बताउनुभयो । ‘सकभर राष्ट्रिय पोशाक र सबैले बुझ्ने भाषामा शपथ खाँदा राम्रो हो,’ उहाँले भन्नुभयो, ‘त्यस्तो ‘हार्ड एन्ड फास्ट’ केही छैन ।’
ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रतिनिधिसभामा निर्वाचित सांसदहरुको शपथ ग्रहण भोलि बिहीबार दिउँसो १ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा गराउने हुनुभएको छ ।