फाइल तस्वीर

काठमाडौं – शक्ति बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनका पाँच दलको बैठक बस्ने भएको छ । सत्तारुढ दल नेपाली काङ्ग्रेसको संसदीय दलको नेता चयनको परिणाम सार्वजनिक भएपछि शक्ति बाँडफाँडका विषयमा छलफलका लागि बैठक राख्ने तयारी भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काङ्ग्रेस संसदीय दलको नेताको परिणामलगत्तै बैठक राख्ने तयारी भएको बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री र स्वतन्त्र सांसद अमेरशकुमार सिंहसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष प्रचण्डले बुधबार साँझ नै बैठक बस्न सक्ने जानकारी दिनुभएको एकीकृत समाजवादीकी सचिव झाँक्रीले बताउनुभएको छ ।

एस सचिव झाँक्रीका अनुसार प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदका लागि काङ्ग्रेस संसदीय दलको निर्वाचन परिणामलगत्तै बैठक बस्ने छ । यसअघि सांसदहरुको शपथ ग्रहणपछि मात्र शक्ति बाँडफाँडको विषयमा छलफल गर्ने तयारी थियो । सांसदहरुको शपथ पुस ७ गते अर्थात बिहीबार तोकिएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका कारण गठबन्धन बैठकमा अनौपचारिक रूपमा छलफल गर्ने तयारी भएको बताइएको छ ।