फाइल तस्वीर


काठमाडौं — नेपाली काङ्ग्रेसको संसदीय दलको नेता चयनका लागि भएको निर्वाचन सकिएको छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा भएको निर्वाचन केहीबेर अघिमात्रै सम्पन्न भएको हो ।
काङ्ग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाको उम्मेदवारी परेको थियो । संस्थापन समूहबाट शेरबहादुर देउवा र इतर समूहबाट थापाले प्रतिस्पर्धा गर्नुभएको छ ।

सिंहदरबारस्थित काङ्ग्रेस संसदीय दलको कार्यालय परिसरमा बिहान ८ बजेपछि सुरु भएको मतदान बिहान १० बजेतिर सकिएको हो । उक्त निर्वाचनको मतगणना र परिणामको घोषणा आजै हुने संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले जनाएको छ ।

मङ्सिर ४ गते सम्पन्न निर्वाचन प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिक गरी नेपाली काङ्ग्रेसका ८९ जना सांसद् रहेका छन् । ससंदीय दलको नेता छान्ने मतदाताको सङ्ख्या यिनै ८९ जना सांसद हुन् । सांसद माया राई र टेकबहादुर गुरुङबाहेक सबै सांसद्हरुले पार्टी संसदीय कार्यालयमा पुगेर मतदान गर्नुभएको थियो ।

सांसद राई सुत्केरी भएका कारण मतदानमा उपस्थित हुन नसकेकोले उहाँको मत निर्वाचन समितिले ल्यउने व्यवस्था मिलाएको भने टेकबहादुर गुरुङमाथि भ्रष्टाचारको मुद्दा लागेको र उक्त मुद्दा अदालतमा विचाराधीन रहेकाले मतदानमा सहभागी हुन पाउनु भएन । दलको नेता चयनका लागि सांसद राईसमेत गरी ८८ जनाले मात्रै मतदान गर्नुभएको निर्वाचन समितिले जनएको छ ।