काठमाडौं – नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आज हुन गइरहेको नेपाली काङ्ग्रेसको संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली काङ्ग्रेसको भविष्य दिशानिर्देश गर्ने हुँदा लोकतन्त्र, संविधान र भावी सन्तानको लागि बिबेकको मत प्रयोग गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ । आज बिहान एक अपिल जारी गर्दे थापाले यो निर्वाचनले देश, जनता र नेपाली काङ्ग्रेसको भविष्य दिशानिर्देश गर्ने उल्लेख गर्नुभएको हो ।

संसदीय दलको निर्वाचन हुनुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले भर्खरै सम्पन्न आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमान्दारितापूर्वक आत्मसात गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि नेपाली काङ्ग्रेसका आदरणीय अग्रज नेताहरू तथा माननीय सांसदज्यूहरूलाई विवेकसम्मत निर्णय गर्न अपिल गर्नुभएको छ ।

वर्तमान राजनीतिक अन्योलता र आर्थिक सङ्कटको घडीमा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय एजेण्डा भएको उहाँको विश्वास छ । ’तीन–तीन वटा जनआन्दोलनको नेतृत्व गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेपाली काङ्ग्रेस जस्तो क्रान्तिकारी, ऐतिहासिक र लोकतान्त्रिक पार्टीको संसदीय दलको नेताका रुपमा मलाई प्रस्ताव गर्नु भएकोमा आदरणीय अग्रज नेताहरू र सांसद साथीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु,’ उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत् लेख्नुभएको छ, ’तपाईंहरूको यो विश्वासले मलाई देश र जनताको पक्षमा काम गर्न थप उर्जा र प्रेरणा मिलेको छ, मैले तपाईंहरूको यो विश्वास कहिल्यै डगमगाउन नदिने प्रण गर्दछु, ।’