काठमाडौं — संसदीय दलको नेताको निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएका नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्ना प्रतिस्पर्धी प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ । आज काङ्ग्रेस संसदीय दलको कार्यालय सिंहदरबार पुगेर पार्टीको संसदीय दलको नेताका लागि आफ्नो उम्मेदवारी मनोनयन गर्नुभएका महामन्त्री थापाले सञ्चारकर्मीहरुसँगै बोल्दै शान्त चित्तले उम्मेदवारी फिर्ता लिन देउवालाई आग्रह गर्नुभएको हो ।

उम्मेदवारी दर्ता गराएपछि उहाँले भन्नुभयो, “‘यो क्षणमा म विश्वास, अपेक्षा र अनुरोध गर्छु । देउवा, जसले भर्खरै उम्मेदवारी दर्ता गर्नुभयो, मेरो आग्रह छ कि दुई घन्टापछि शान्त चित्तले मनन गरेर उम्मेदवारी फिर्ता लिनुभयो भने काङ्ग्रेसका लागि ऐतिहासिक हुन्छ र त्यसले पार्टीमा उत्साहको सञ्चार गर्छ ।” पार्टी महामन्त्रीसमेत रहनुभएका थापाले आफ्ना प्रस्तावकका रुपमा रहनुभएका डा शेखर कोइराला र समर्थक विश्वप्रकाश शर्मालाई दायाँबायाँ राखेर काङ्ग्रेसको भविष्य हेरेर आफूलाई सघाउन अन्य वरिष्ठ नेता र सांसदहरुलाई अनुरोध गर्नुभयो ।

उहाँले काङ्ग्रेस संसदीय दलको निर्वाचनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रको परिचय दिएको बताउनुभयो । नेता थापाले आफूलाई समर्थन गरेकामा डा.शेखर कोइरालाप्रति आभार प्रकट गर्नुभयो । महामन्त्री थापाको संसदीय दलको नेताका लागि प्रस्तावकमा डा. शेखर कोइराला रहनुभएको छ भने समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ हुनुहुन्छ । संसदीय दलको निर्वाचन भोलि बुधबार बिहान ८ बजेबाट १० बजेसम्म हुने स्रोतले जनाएको छ ।