दोधारा चाँदनी —मानव बेचबिखनका घटना बढ्दै गएको पाइएको छ । माइती नेपाल कञ्चनपुरले एक वर्षमा बेचबिखनमा परेका २२ जना नेपालीलाई भारतबाट उद्धार गरेको छ ।

माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार भारतको दिल्लीबाट छ जना, पुणेबाट चार जना, सिमलाबाट दुई जना, हल्दानीबाट दुई जना, मुम्बईबाट दुई जना, हरियाणाबाट एक जना, चण्डीगढबाट दुई जना, बैङ्गलोरबाट दुई जना र अयोध्याबाट एक जनाको उद्धार गरिएको छ ।

दुई सय ५ जनाको खोजतलासका लागि माइती नेपालमा निवेदन परेको थियो । जसमध्ये ३५ जनाको खोजी गरी माइती नेपालले परिवारको जिम्मा लगाएको छ ।

त्यसैगरी गड्डाचौकी नाकाबाट ८८ जना र झोलुङ्गे पुलबाट ६८ जनाको उद्धार गरिएको छ । जसमा ७५ जना १८ वर्ष मुनिका बालबालिका छन् । सीमा नाकाबाट परामर्श गरी ४९ जनालाई घर फर्काइएको छ ।

उद्धार गरिएकामध्ये दुई वटामात्रै मानव बेचबिखनमा मुद्दा दर्ता भएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताउनुभयो । “उद्धार गरिएका घटना हेर्दा धेरैजसो आफन्तबाटै बेचिएको पाइएको छ”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जालको प्रयोग र बेरोजगारीका कारण धेरै महिला तथा बालबालिका भारतका सहरमा बेचिन पुगेका छन् ।”रासस