प्रतिकात्मक तस्वीर
धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका–९ मा मंगलबार बिहान गोली चलेको छ । चोरी गर्न आएको टोली र स्थानीयबीच मुडभेड हुँदा अकस्मात् गोली चलेको हो ।
गोली मानिसलाई भने नलागेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार धनगढी–९ स्थित शिवरामनगर टोलमा लुटपाट गर्न आएका हतियार धारी समुहलाई गाउँलेले लखेटेका थिए ।
गाउँलेले घेरेपछि चोरले हवाई फायर गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
चोर र स्थानीयबीच भएको मुडमेडमा स्थानीय प्रजापति विष्ट सामान्य घाइते भएका छन् । उनको कम्मरमा सामान्य चोट लागेको प्रहरी प्रवक्ता जोशीले बताए । घरमा लुटपाट गर्न आएका लुटेरासँग प्रतिकार गर्न खोज्दा विष्ट घाइते भएका हुन् ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लगेको छ । उनमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले गोलीका खोकाहरू समेत बरामद गरेको छ ।