काठमाडौं – नेपाली काङ्ग्रेसको संसदीय दलको नेता चयनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन समितिले भोलि बुधबार हुने निर्वाचनका लागि हिजो सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ । निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार आज दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको हो ।

संयोजक आङ्देम्बेका अनुसार उम्मेदवारको प्रथम नामावली आज दिउँसो ३:३० बजे प्रकाशन हुनेछ । दिउँसो ३:३० देखि ४ बजेसम्म उम्मेदवारको नामावलीमा दाबीविरोध हुनेछ । दिउँसो साढे ४ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ भने आज साँझ ५:४५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।

संसदीय दलको नेताका मतदान भने बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहनुभएका काङ्ग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने ठानिएको छ । तर, नेता डा. शेखर कोइराला पनि निर्वाचन लड्नसक्ने बुझिएको छ । काङ्ग्रेस संसदीय दलको नेताको चुनावमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ सांसद मतदाता रहेका छन् ।

संसदीय दलको नेतामा शेखर कोइरालाले समेत चासो दिएपछि पार्टी सभापति देउवालाई फाइदा पुग्ने देखिन्छ । मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अगाडि नै भावी प्रधानमन्त्रीको रुपमा आफूलाई मतदातासँग चिनाएका गगन थापा आफ्नो नाममा सहमति खोज्ने प्रयासमा तल्लिन रहेका छन् भने यता सस्थापन इतर पक्षका कोइराला आफ्नो नाममा सहमतिको प्रयास गरिरहेका छन् । अन्तिम समयसम्म कोइराला र थापाबीच सहमति नभएमा सभापति देउवालाई फाइदा पुग्ने देखिन्छ ।