फाइल तस्वीर
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सो पार्टीले संसदीय दलको नेतामा चयन गरेको छ । आज पार्टी कार्यालयमा बसेको नवनिर्वाचित सांसदहरुको बैठकले पार्टी अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो ।
नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिन पार्टीले आज सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै तत्काल वामपन्थी सरकारको कुनै सम्भावना नरहेको खुलासा समेत गर्नुभयो ।

वामपन्थीको सहकार्य भएर सरकार बन्ने सम्भावना तत्काल नरहेको भन्दै अध्यक्ष नेपालले वाम–लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनु भयो । नेता नेपालले गठबन्धनमा आबद्ध दलका नेता चयन भएपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्ने पनि उल्लेख गर्नुभयो ।

संसदमा कुनै पनि राजनीतिक दलको बहुमत नरहेको भन्दै अध्यक्ष नेपालले अहिलेको अवस्थामा शक्ति सन्तुलनका आधारमा गठबन्धन अगाडि बढाउन आफूले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुझाएको दावीसमेत गर्नुभयो ।

आफ्नो पार्टीको तर्फबाट नवनिर्वाचित सांसदहरुलाई अध्यक्ष नेपालले देश, जनता र समाजको रुपान्तरण गर्ने सङ्कल्पसहित काम गर्न गर्न निर्देशन दिनुभएको छ । नीति र कार्यक्रमका आधारमा सरकार बनाउनुपर्ने भन्दै अध्यक्ष नेपालले पार्टीका तर्फबाट निर्वाचित कुनै पनि तहका जनप्रतिनिधिहरु भ्रष्टाचारमा सम्लग्न भएको पाइएमा पार्टीले कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।

सो अवसरमा पार्टीका सम्मानित नेता झलनाथ खनालले विभिन्न चरणका आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरुको रक्षा, स्थायित्व र स्थिरताका लागि निर्माण भएको गठबन्धनले नै सरकार बनाउनुपर्नेमा विशेष जोड दिनुभएको थियो । पार्टीले अवलम्बन गरेको सिद्धान्त र आदर्शलाई आत्मसात् गर्दै जनाधिकार स्थापनाका लागि सडक र सदन दुवै ठाउँबाट जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

पार्टीका महासचिव डा. बेदुराम भुसालले नवनिर्वाचित सांसदहरुलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो सो अवसरमा महासचिव भुसालले देशभर सङ्गठन सुदृढीकरणका लागि राजनीतिक गतिविधि सञ्चालन गरिने बताउनु भएको छ ।