काठमाडौं – नेपाली काङ्ग्रेसले संसदीय दलको नेता चयन गर्न निर्वाचनको मिति तय गरेको छ । काङ्ग्रेसले संसदीय दलको नेता चयनका लागि पर्सी पुष ६ गते बुधबार बिहान ८ बजेदेखि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन गर्न लागेको हो ।
काङ्ग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा आकांक्षी देखिएका छन् । संस्थापन पक्ष इतर मानिएका नेता शेखर र महामन्त्री थापा गतवर्ष सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा एकै समूहमा रहेका थिए । थापा संसदीय दलको नेता बन्दै प्रधानमन्त्रीका लागि समेत आकाङ्क्षी देखिएका छन् । संस्थापन इतरपक्षले यी दुई नेतामध्ये एक जनाले मात्रै संसदीय दलको नेतामा उम्मेदवारी दिन दवाव दिएका छन् ।
काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको हिजो आइतबार बसेको बैठकले संसदीय दलको चुनावका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । सो समितिले बुधबारका लागि संसदीय दलको नेता छान्न निर्वाचनको मिति तोकेको छ ।