काठमाडौं – भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेको छ । जसका कारण आज पनि देशका केही भागमा मौसम बदली हुनुका साथै नेपालको तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । भोलि मङ्गलबार पनि देशको पहाडी भू–भागमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । बुधबार भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली भए पनि वर्षा र हिमपातको सम्भावना कम रहेको छ ।