काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । पार्टी महासचिव बेदुराम भुसालका अनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा संसद दलको नेता, उपनेता, प्रमुख सचेतक चयन लगायतका विषयमा छलफल हुने भएको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आइतबार बसेको पार्टीको सचिवालय बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी गठबन्धनमा रहेका र रहन सक्ने राजनीतिक दलहरूसँग छलफल अगाडि बढाउने निर्णय गरेको थियो । अध्यक्ष नेपालले लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता वामदेव गौतमसँग राजनीतिक भेटघाट र छलफल गरेको महासचिव बेदुराम भुसालले जानकारी दिनुभएको छ ।

एकीकृत समाजवादीमा सर्वसम्मतीले दलको नेतामा अध्यक्ष माधव नेपाल नै चयन हुने सम्भावना बलियो रहेको बुझिएको छ । बैठकमा नयाँ सरकार गठनबारे दलहरुबीच भइरहेको छलफलका विषयमा पनि कुरा राखिने भएको छ ।